देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: हिमपात र हुस्सुको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ८ शुक्रबार
658
Shares
काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले मौसममा बदली देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले देशका विभिन्न भागमा मौसममा फेरबदल आउनुका साथै तराईका केही स्थानमा बिहानीपख हुस्सु लागेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ भने मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकीका बाँकी पहाडी भेगमा आंशिक बदली हुने देखिन्छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का वर्षासँगै हिमपातको समेत सम्भावना रहेको छ। अन्य प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा भने मौसम आंशिक बदली रहनेछ।
आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहने पूर्वानुमान छ भने बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ। रातिको समयमा तराईका केही स्थानमा तुवाँलो लाग्ने सम्भावना छ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा राति पनि हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले उल्लेख गरेको छ।
हुस्सु, तुवाँलो र हिमपातका कारण हुनसक्ने चिसोबाट बच्न तथा यातायातका साधन सञ्चालन लगायतका दैनिक गतिविधिहरू गर्दा आवश्यक सावधानी अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।