म कांग्रेस प्रवेश गरेको होइन, पुरानो घर फर्किएको हुँ - अन्सारी
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ८ शुक्रबार
2.7k
Shares
वीरगञ्ज । नेकपा एमाले पर्साका नेता तथा वीरगञ्ज महानगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार रहेका बसुरुद्धिन अन्सारीले गगनकुमार थापा नेपाली कांग्रेसको नेतृत्वमा आएपछि आफू पुरानै घर फर्किएको बताएका छन्।
उनी बुधबार जनकपुरमा आयोजित कांग्रेसको प्रतिज्ञा सभामा कांग्रेस प्रवेश गरेका थिए । उनले गगनकुमार थापा नेतृत्वमा आएपछि कांग्रेस एक ढिक्का भएको र त्यसपछि आफू आफ्नो पुरानो घर नेपाली कांग्रेसमा फर्किएको बताए ।
`म कांग्रेस प्रवेश गरेको होइन, पुरानो घर फर्किएको हुँ, अहिले गगन थापा नेतृत्वमा आएपछि कांग्रेस एकढिक्का भएको छ, कांग्रेस देशकै नयाँ र उर्जाशिल दल बनेको छ, त्यसकारण म पुरानो घर फर्किएं।´ अन्सारीले भने।
उनले जेन-जी आन्दोलनपछि सबैभन्दा ठूलो परिवर्तन नेपाली कांग्रेसमा नै भएको पनि दाबी गरे। `यो भन्दा ठूलो परिवर्तन अरु दलमा भएको छैन। मधेस प्रदेशमा कांग्रेसलाई अब कसैले हराउन सक्दैन, विगतमा कांग्रेसीकै कारण कांग्रेस उम्मेदवार हारेका थिए।´ उनले अगाडी थपे, `तर यसपटक गगन थापा सभापति भएपछि कांग्रेसको अन्तर्घात हटेको छ। कांग्रेसमा परिवर्तन आयो। अहिले सबै कांग्रेसी एक ढिक्का भएका छन्। एक ढिक्का भएको कांग्रेसलाई हराउन सक्ने क्षमता कसैको छैन ।´
उनले आफ्नो गृह जिल्ला पर्सामा क्षेत्र नम्बर १ देखि ४ सम्म नेपाली कांग्रेसको जित सुनिश्चित रहेको पनि दाबी गरे ।
अन्सारीले गगन थापा कांग्रेसको नेतृत्वमा आएपछि ब्यवसायीहरु उत्साहित भएको पनि बताए। `बल्ल ब्यवसायीको कुरा सुन्ने, समस्या सुन्ने, करदेखि भन्सारसम्म सबै बुझ्ने ब्यक्तित्व नेपाली कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार भएका छन्´ उनले भने ।
अन्सारीले वीरगञ्ज औद्योगिक करिडोर भएकाले ब्यवसायीले टिकट पाउनु राम्रो भएको भन्दै भने,`वीरगञ्ज यो नेपालको औद्योगिक करिडोर हो, आर्थिक नगरी र राजधानी पनि हो। यो ठाउँमा एक जना ब्यवसायीले कांग्रेसबाट टिकट पाएका छन्। यो भनेको कांग्रेस उद्योग ब्यवसाय सुरक्षित बनाउन चाहन्छ, देशमा रोजगारीको अवसर सिर्जना गर्न चाहन्छ भन्ने हो।´
वीरगञ्जको कल्याणका लागि कृष्णप्रसाद भट्टराई चुनाब लड्दा जति वीरगञ्जले पायो आजसम्म त्यति कसैले दिन नसकेको पनि बताए।
`हामीले कांग्रेस बदलिएको अनुभव गरेका छौं। वीरगञ्जको कल्याणका लागि कृष्ण प्रसाद भट्टराई चुनाब लड्दा जति वीरगञ्जले पायो आजसम्म त्यति कसैले दिन सकेको छैन। नेशनल मेडिकल कलेज समेत त्यसको उपज हो। एउटा मेडिकल कलेजले गर्दा वीरगञ्ज स्वस्थ्य सेवामा कति अगाडि बढ्यो, तर त्यसपछि अहिले सम्म कुनै एउटा नयाँ संस्था वीरगञ्जमा आएन।´ अन्सारीले भने।
उनले देश विकासका लागि आर्थिक अवस्था बलियो हुनुपर्ने र फाइनान्स आउनका लागि व्यापार चाहिने भन्दै गगनले त्यो विश्वास पूरा गर्न सक्छन् भन्ने अहिले उद्योगी ब्यवसायीमा जागेको बताए।
अन्सारी वीरगञ्जका मेडिकल ब्यवसायी हुन्। उनी यसअघि विभिन्न राजनीतिक दलमा सक्रिय थिए।