धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले गर्यो कार्यदल गठन
१९ जनाको मृत्यु भएको पुष्टि
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ११ सोमबार
718
Shares
काठमाडौँ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैँसीगौडामा भएको भीषण बस दुर्घटनाबारे छानबिन गर्न सरकारले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग२ख १४२१ नम्बरको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ भने २५ जना घाइते भएका छन्।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार, गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले सहसचिवको नेतृत्वमा छानबिन कार्यदल गठन गर्ने निर्णय गरेको हो। बैठकमा गृहसचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुखहरू, यातायात विभागका महानिर्देशक र यातायात व्यवसायीहरूको उपस्थिति रहेको थियो।
छानबिन कार्यदललाई दुर्घटनाको कारण पत्ता लगाई यथाशीघ्र प्रतिवेदन पेस गर्न जिम्मेवारी दिइएको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार, दुर्घटना लगत्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाको समन्वयमा उद्धार कार्यलाई तदारुकताका साथ अगाडि बढाइएको थियो।
नदीबाट मृतकहरूको शव निकालिसकिएको र हाल सनाखत गर्ने प्रक्रिया जारी रहेको प्रवक्ता काफ्लेले जानकारी दिए। घाइतेहरूलाई उद्धार गरी तत्कालै विभिन्न अस्पतालहरूमा पठाइएको र उनीहरूको प्रभावकारी उपचारका लागि सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय भइरहेको छ।
मन्त्रालयले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरिएको छ।