मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन बालेनको आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १७ आइतबार
806
Shares
काठमाडौँ । मध्यपूर्व एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपाली नागरिकलाई त्यहाँको असामान्य परिस्थितिलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन वालेन्द्र साह (बालेन)ले आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै शाहले वैदेशिक रोजगारी र अन्य सिलसिलामा त्यहाँ रहेका नेपालीहरूलाई सुरक्षित रहन र आधिकारिक निकायको निर्देशन पालना गर्न अनुरोध गरेका छन्। उनले सम्बन्धित देशमा रहेका नेपाली राजदूतावासहरूले जारी गरेका सूचनालाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै अनावश्यक यात्रा नगर्न सुझाव दिएका छन्।
"आधिकारिक सूचना, समाचार तथा राजदूतावाससँग नियमित सम्पर्कमा रहनुहोस्। सुरक्षित रहनुहोस्, सजग रहनुहोस्," शाहले आफ्नो सन्देशमा उल्लेख गरेका छन्। उनले नजिकैको सुरक्षित आश्रय स्थलको जानकारी राख्न तथा आवश्यक पर्दा तुरुन्तै कूटनीतिक नियोगहरूसँग सम्पर्क गर्न समेत अपिल गरेका छन्।
मध्यपूर्वका केही क्षेत्रमा विकसित भइरहेको तनावपूर्ण अवस्था र युद्धको त्रासका कारण त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षाप्रति विश्वव्यापी चासो बढिरहेका बेला शाहको यो अपिल सार्वजनिक भएको हो। नेपाल सरकार र सम्बन्धित देशका राजदूतावासहरूले समेत नेपालीहरूको सुरक्षाका लागि समन्वय गरिरहेको जनाएका छन्।