पशुपतिको यात्रा सिद्राको व्यापार
काठमाडौं । नेपालीमा एउटा उखान छ ‘पशुपतिको यात्रा सिद्राको व्यापार’ । अहिले पाशुपत क्षेत्रमा जाने हो भने यो उखान पूर्णरूपले चरितार्थ हुन्छ । नहोस् पनि कसरी पाशुपत क्षेत्रलाई व्यापारको थलो बनाउने नागाबाबाहरूका साथै जोगी र साधुहरूको हर्कतले त्यसलाई थप स्पष्ट पारेको छ ।
यिनीहरू नै पशुपतिनाथको मर्ममाथि प्रहार गर्ने व्यापारी बनेका छन् । भगवान शिवजी विष, भाङ र धतुरोमा लठ्ठ हुन्छन् भनी गलत प्रचार गर्दै युवाहरूलाई बिगार्न यी जोगीहरू खुलेआम भाङ, गाँजा र त्यस्तै लागुपदार्थ बेचिरहेका छन् ।
गौशाला प्रहरीले यस्तो गतिविधि रोक्न भरपूर प्रयास गरेको जनाउन थालेको पनि बर्षौं भएको छ । त्यतिमात्र होइन सुरक्षाकर्मीको ठूलै डफ्फा खटिन्छ पशुपतिनाथ क्षेत्रमा । तर उपलब्धि सधै शून्यप्रायः मुलुकलाई प्रायः पशुपतिनाथको कृपाले चलेको भनेर भन्नेहरू यही देशमा जिवितै छन् ।
पशुपतिनाथमा राजनीति गरेर खान पल्केका नेताहरू पनि जिवितै छन् । यति हुँदाहुँदै विकृति रोकिएला भनेर आशा गरेर बस्ने नै मूर्ख हुन सक्लान् । तर कम्तीमा प्रयास गर्न पनि सरकार चुकेको छ ।
शिवजीको महिमा विष, भाङ र धतुरोमा अडेको छैन । धर्मले त विकृति हटाउन मद्धत गर्नुपर्ने हो । तर पशुपति क्षेत्र विकास कोषसमेत यसमा मौन देखिएको छ ।
केही दिनअघिदेखि नै नागाबाबाहरूले आफ्ना गुप्तअंगहरू देखाएर मागी खाने भाँडो बनाइसकेका छन् । हरेक चाड अर्थसँग जाेडिन्छ । तर अब पैसाका लागि छाडा हुनु नेपालमा त्यसलाई कत्तिको जायज मान्ने ? होइन भने त्यो घृणित हर्कत मन्दिर परिसरभित्र रोक्ने हैसियत प्रशासनले किन राख्न सक्दैन ?
त्यतिमात्र होइन गाँजा, भाङ अवैध हो । त्यो अवैधलाई भलै जोगी नै किन नहोस् उनले सार्वजनिक स्थलमा कसरी प्रयोग गर्न पाउँछ ? कानून पनि फरक फरक हुन्छ र ? होइन भने किन त्यस्ता विकृति फैलाउने जोगीलाई कारबाही गर्न सकिंदैन ?
पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा गोविन्द टन्टनले वर्षौंदेखि दिंदै आएको जवाफ एउटै हुन्छ । उनी भन्ने गर्छन्, ‘हामी विकृति हटाउन प्रयासरत छौं ।’ उनको त्यो प्रयास बालुवामा पानी हालेसरह हुने गर्छ ।
मन्दिर परिसरभित्रै बसेर विगुत घसेर नागाबाबाले खुल्लमखुल्ला भक्तजनबाट आशीर्वाद दिने नाममा मोटो भेटी माग्ने, अनि मन्दिर परिसर बाहिर धुनी जगाउँदै गाँजा तानेर खुल्लमखुल्ला गाँजा बेच्ने जोगी र साधु हाम्रो समाजका लागि कत्तिको लाभदायक छन् भन्ने कुराको निक्र्याेल गर्नुपर्छ ।
विकृतिको जरो बढ्दै जानु धर्मका लागि पनि क्यान्सर बन्न जान्छ । क्यान्सरले गर्ने भनेको नाश नै हो । तसर्थ यस्ता धर्मलाई नै नाश गर्ने खालको क्यान्सर रोक्न सम्बन्धित निकाय जाग्नैपर्छ । फेरि याे सबै सीमित पैसाका लागि गरिएकाे हुन्छ ।
जसरी पशुपति क्षेत्र विकास कोषले यसपटकदेखि विशेष पास र एक हजार रूपैयाँको टिकट हटाएको छ त्यसरी नै पाशुपत क्षेत्रभित्र हुने हरेक किसिमका विकृत हटाउन ढिला गर्नु हुँदैन । विकृति जति छिटो हटाउन सकियो उत्ति नै त्यसले समाजलाई फाइदा गर्ने हो ।
अहिलेको युवा पुस्तालाई भाङ र गाँजा हैन राम्रो संस्कार चाहिएको छ । ‘धर्म रक्षति रक्षितः भनेझैं पशुपति क्षेत्र विकास कोषका पदाधिकारीलाई सद्मार्गमा लाग्ने प्रेरणा पशुपतिनाथले प्रदान गर्न सकून् ।
किनकि कोषले चाह्यो भने विकृति हटाउन सक्छ । बस् पशुपति क्षेत्र कोषका पदाधिकारीमा भएको विकृति पहिले हट्नु जरूरी छ ।
पशुपतिलाई साक्षात् शिवजीको दर्शन गर्ने थलोको रूपमा सरसफाइ गरौं । नत्र थाेरैमात्र अर्थका लागि पशुपतिमै सिद्राकाे व्यापार गर्न त मिलेन नि ।