काठमाडौँ । हाल नेपालको वायुमण्डलमा दुईवटा मौसमी प्रणालीको प्रभाव देखिएको छ। उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका कारण देशका विभिन्न भागमा बादल लागेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा पनि बादलको प्रभाव रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली हुनेछ। देशका पहाडी र हिमाली भेगका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ। तराईका केही स्थानमा भने बिहानको समयमा हुस्सु लाग्नेछ।
आज राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी र हिमाली क्षेत्रमा बादल लाग्ने क्रम जारी रहनेछ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षा वा हिमपात हुन सक्छ। तराईका केही ठाउँमा भने राति तुँवालो लाग्ने सम्भावना छ।