देशभर बादल लाग्ने, पहाडी र हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २६ मंगलबार
692
Shares
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणालीको आंशिक प्रभाव छ। यस्तै, पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रले पनि प्रभाव पारेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ। यस्तै, कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली भूभाग तथा लुम्बिनी प्रदेशको तराई क्षेत्रका एक–दुई स्थानमा पनि वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनायो।
आज राति पनि गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा हिमाली क्षेत्र र लुम्बिनीको तराईका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना छ।
महाशाखाले वर्षा र हिमपात हुन सक्ने क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।