पहाडी र हिमाली भेगमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २८ बिहिबार
747
Shares
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसममा आंशिकदेखि साधारणतया बदली रहने देखिएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा बादल लाग्ने र बाँकी स्थानमा मौसम आंशिक सफा रहने अनुमान गरिएको छ।
महाशाखाले आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका साथै मधेश प्रदेशका केही स्थानमा पनि हल्का वर्षा वा हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ।
आज राति पनि कोशी प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बादल लाग्ने र बाँकी भागको मौसम आंशिक सफा रहनेछ। कोशी प्रदेशका केही स्थानका साथै बागमती र गण्डकीका पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहने महाशाखाले बताएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा पनि मेघगर्जनसहित हल्का वर्षाको सम्भावना देखिएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।