arrow

शपथ ग्रहण नयाँ भवनमै: २४ सै घण्टा काम गरेर तयार पारिँदै संसद्को वैकल्पिक हल

मुख्य हलमा प्राविधिक समस्या भए पनि वैकल्पिक हल तयार

logo
बानेश्वरबाट सिंहदरबार सर्दै संसद् 
प्रकाशित २०८२ फागुन २८ बिहिबार
samsad-bhawan-s.jpg

काठमाडौँ। सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद् भवनको निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको छ। शहरी विकास तथा भवन निर्माण विभागका अनुसार भवनको अधिकांश मुख्य कामहरू सम्पन्न भइसकेका छन् भने केही प्राविधिक कामहरू मात्र बाँकी रहेका छन्। प्रतिनिधि सभाको मुख्य हलमा भइरहेको फल्स सिलिङको काममा केही प्राविधिक जटिलता देखिएकाले उक्त हल पूर्ण रूपमा तयार हुन अझै १० देखि १२ दिन लाग्ने देखिएको छ।

 सोचेअनुसार समयमा मुख्य हल सञ्चालन गर्न नसकिने भएपछि तत्कालका लागि वैकल्पिक व्यवस्थाको तयारी गरिएको छ। विभागले सोही भवनभित्रको अर्को हललाई प्रतिनिधि सभाको बैठक र नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण कार्यक्रम सञ्चालन गर्न मिल्ने गरी तयार पारेको छ। यो वैकल्पिक हल दुई–तीन दिनभित्रै संसद् सचिवालयलाई हस्तान्तरण गर्ने योजना रहेको छ।

राष्ट्रिय सभाको बैठक भने तत्कालका लागि सिंहदरबार परिसरकै कृषि समितिको पुरानो हलमा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ। आयोजनाका अनुसार चैत १ गते सम्पूर्ण भवन नभई प्रतिनिधि सभा सञ्चालन गर्न मिल्ने हल मात्र हस्तान्तरण गरिनेछ। हाल निर्माण स्थलमा करिब ४१० जना कामदारहरू तीन शिफ्टमा २४ सै घण्टा खटिएका छन् भने विभागका प्राविधिकहरूले निरन्तर अनुगमन गरिरहेका छन्। 

अबको करिब डेढ महिनाभित्र सम्पूर्ण भवनको निर्माण कार्य सम्पन्न हुने अनुमान गरिएको छ। पछिल्लो समय निर्माण कार्यले निकै तीव्रता पाएको र प्राविधिक टोलीहरू निरन्तर सक्रिय रहेकाले काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ।

संसद् भवन निर्माणको समय लम्बिनुमा विभिन्न बाह्य कारणहरू रहेको पाइएको छ। सुरुमा उक्त स्थानमा रहेका सैन्य इकाइहरूको स्थानान्तरण, त्यसपछि फैलिएको कोभिड–१९ महामारी र लकडाउनका कारण निर्माणमा अवरोध पुगेको थियो। साथै, भवनमा प्रयोग हुने विशेष सामग्रीहरू विदेशबाट आयात गर्नुपर्ने भएकाले समयमै उपलब्ध हुन नसक्दा र विभिन्न राजनीतिक तथा सामाजिक आन्दोलनका कारण पनि कामको गति प्रभावित भएको थियो। 

समय बढे तापनि परियोजनाको लागत भने नबढ्ने सुनिश्चित गरिएको छ। संसद् भवनको सिभिल निर्माणमा करिब ५ अर्ब ६० करोड र इन्टेरियरमा २ अर्ब ३४ करोड रुपैयाँ खर्च हुने प्रारम्भिक सम्झौताकै लागतमा सम्पूर्ण काम सम्पन्न हुनेछ।

करिब १५० रोपनी क्षेत्रफलमा फैलिएको यो नयाँ र अत्याधुनिक भवन पूर्ण रूपमा सञ्चालनमा आएपछि संघीय संसद्का सम्पूर्ण गतिविधिहरू एउटै परिसरबाट सञ्चालन हुनेछन्। यसअघि भाडामा प्रयोग हुँदै आएको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई अब सोही केन्द्रको मूल उद्देश्य अनुरूप सम्मेलनहरूका लागि मात्र प्रयोग गरिनेछ। 

आफ्नै नयाँ भवन तयार भएपछि संसद् सचिवालय र सांसदहरूका लागि आवश्यक पर्ने सम्पूर्ण पूर्वाधारहरू एउटै सुरक्षित परिसरभित्र उपलब्ध हुने भएकाले संसद्को कार्यसम्पादन अझ व्यवस्थित हुने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ