देशभर गर्मी बढ्दै: काठमाडौँमा २५ र तराईमा ३३ डिग्री सेल्सियस पुग्यो तापक्रम
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २८ बिहिबार
1k
Shares
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको पछिल्लो तथ्याङ्कअनुसार फागुन २६ गतेयता देशका अधिकांश सहरहरूमा अधिकतम तापक्रम क्रमशः बढ्दै गएको देखिएको छ। विभागले सार्वजनिक गरेको विवरणअनुसार विशेषगरी तराई र मधेसका जिल्लाहरूमा गर्मीको प्रभाव बढ्न थालेको छ।
राजधानी काठमाडौँमा फागुन २६ गते २० देखि २२ डिग्री सेल्सियसको हाराहारीमा रहेको अधिकतम तापक्रम शनिबार २४ डिग्री पुगेको थियो भने आज मध्यान्हसम्म २५.४ डिग्री सेल्सियस रेकर्ड गरिएको छ। आज रातिको न्यूनतम तापक्रम भने १५ देखि १७ डिग्री सेल्सियसकै आसपास रहने मौसमविद्हरूको अनुमान छ।
तराईका जिल्लाहरूमा गर्मीको लहर सुरु भइसकेको छ। आज मध्यान्हसम्मको विवरणअनुसार सिराहा र बाँकेमा सबैभन्दा बढी ३१.१ डिग्री सेल्सियस तापक्रम पुगेको छ। विराटनगरमा आज अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री र नेपालगञ्जमा ३० देखि ३२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। गण्डकी प्रदेशको पर्यटकीय सहर पोखरामा पनि आज तापक्रम २६ देखि २८ डिग्री सेल्सियसको बीचमा रहने देखिएको छ।
हिमाली क्षेत्रमा पनि तापक्रममा केही वृद्धि भएको छ। जुम्लामा आज अधिकतम तापक्रम २३ देखि २५ डिग्री र जोमसोममा १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने प्रक्षेपण गरिएको छ। यद्यपि, मनाङको हुम्दे विमानस्थल क्षेत्रमा भने मध्यान्हसम्मको तापक्रम ३.२ डिग्री सेल्सियस मात्र रहेको छ।
मौसमविद् सञ्जीव अधिकारीका अनुसार हावामा आर्द्रता बढेसँगै देशभर गर्मीको महसुस हुन थालेको हो। आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने र दिउँसोको तापक्रममा अझै वृद्धि हुँदै जाने सम्भावना रहेको विभागले जनाएको छ।