arrow

कांग्रेसले टुंगो लगायो समानुपातिकको नाम, निर्वाचन आयोगमा  सूची बुझाउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १ आइतबार
congress meeting 2.jpg

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभाको समानुपातिक तर्फको सूची निर्वाचन आयोगलाई बुझाउने तयारी गरेको छ । पार्टी केन्द्रीय कार्यसम्पादन समितिको पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपीनगर, ललितपुरमा बसेको बैठकले यसअघि तोकिए बमोजिमका नामहरू बुझाउने निर्णय गरिएको र सोअनुसार बुझाउने क्रममा रहेको प्रवक्ता एवं केन्द्रीय समिति सदस्य देवराज चालिसेले जानकारी दिए । 

उनले बैठकले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधि सभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने निर्णय गरेको जानकारी दिए ।  

कांग्रेसले समानुपातिकमा २० सिट जितेको छ । आयोगले दिएको निर्देशनअनुसार नै क्लस्टर छुट्टाएर नाम सिफारिस गरिएको चालिसेले बताए । उनले कम्तीमा १५ महिला सिफारिस गर्न भने बमोजिम सो अनुसार सिफारिस गरिएको जानकारी दिए । 

अहिले नाम भने सार्वजनिक नगरिएको पनि उनले उल्लेख गरेका छन् । कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेको छ । जसमा एक जनामात्र महिला उम्मेदवार विजेता बनेकी छिन् । 

 गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा तीन प्रतिशतको 'थ्रेसहोल्ड' पार गरेका छ राजनीतिक दलले आज समानुपातिकतर्फका सांसदहरूको अन्तिम नामावली निर्वाचन आयोगमा बुझाउन लागेका हुन् । आयोगले तोकेको समयसीमा अनुसार आज साँझ ५:०० बजेसम्म सबै दलले क्लस्टर (समूह) मिलाएर उम्मेदवारको नाम पेस गर्नुपर्नेछ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार समानुपातिकतर्फ कुल १ करोड ८ लाख ३५ हजार २५ सदर मतमध्ये प्राप्त मतका आधारमा सिट सङ्ख्या निर्धारण गरिएको छ। सबैभन्दा बढी मत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५७ जना सांसदको सूची बुझाउनुपर्नेछ। त्यस्तै नेपाली कांग्रेसले २०, नेकपा (एमाले) ले १६, नेकपाले ९, तथा श्रम संस्कृति पार्टी र राप्रपाले ४-४ जना उम्मेदवारको नाम सिफारिस गर्नुपर्नेछ।

आयोगले दलहरूबाट प्राप्त नामावली तोकिएको क्लस्टर र कानुनी प्रावधान अनुसार मिलेको खण्डमा आजै निर्वाचित उम्मेदवारहरूको नामावली सार्वजनिक गर्ने तयारी गरेको छ। 

यदि नाम र क्लस्टर नमिलेमा सच्याउनका लागि पुनः समय उपलब्ध गराइनेछ। समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभामा कुल ११० जना सांसद निर्वाचित हुने संवैधानिक व्यवस्था छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ