असिना र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २ सोमबार
912
Shares
काठमाडौँ । नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणालीको सक्रिय प्रभाव रहेकाले देशभरको मौसममा फेरबदल आएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।
हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रहेको छ भने बाँकी क्षेत्रमा आंशिक बदली देखिएको छ। सुदूरपश्चिमसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा अहिले मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका अन्य पहाडी र हिमाली क्षेत्रमा साधारणतया बदली रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका केही स्थानहरूका साथै कोशी, बागमती र लुम्बिनी प्रदेशको हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यसैगरी कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा असिनासहित मध्यम वर्षा हुन सक्ने र तराईका एक–दुई स्थानमा समेत मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना देखिएको छ।
रातीको समयमा कर्णाली र सुदूरपश्चिमको पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने र बाँकी प्रदेशहरूमा आंशिक बदली रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली भेगका थोरै स्थान र अन्य हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा र हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले बताए। पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेकाले चिसोबाट जोगिन र आवश्यक सतर्कता अपनाउन विभागले सबैमा आग्रह गरेको छ।