बैंकिङ कसुरको अभियोगमा बैंकका विभागीय प्रमुख पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ४ बुधबार
677
Shares
काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले बैंकिङ कसुरको अभियोगमा प्रभु बैंकका कर्पोरेट एण्ड प्रोजेक्ट फाइनान्स विभागका प्रमुख दिनेश डङ्गोललाई पक्राउ गरेको छ। ब्यूरोले यसअघि पक्राउ परेका प्रतिवादी अशोक शेरचन लगायतमाथि अनुसन्धान गरिरहेका बेला थप तथ्यहरू फेला परेपछि डङ्गोललाई नियन्त्रणमा लिएको जनाएको छ।
बैंकको महत्त्वपूर्ण विभागमा कार्यरत डङ्गोलले नेपाल राष्ट्र बैंकबाट जारी भएका निर्देशन तथा प्रचलित कानुन विपरीत कार्य गरेको ब्यूरोको प्रारम्भिक अनुसन्धानले देखाएको छ। उनले प्रभु म्यानेजमेन्ट प्रालि लगायतका संस्थाहरूमा प्रवाह भएको ऋणमा कर्जा दुरुपयोग गरेको अभियोग लागेको छ।
पक्राउ परेका डङ्गोलमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँबाट अनुमति लिइएको साइबर ब्यूरोका सूचना अधिकारी शिवकुमार श्रेष्ठले उल्लेख गरेका छन्। कर्जा प्रवाहमा भएको अनियमितता र बैंकिङ प्रणालीको दुरुपयोगबारे प्रहरीले थप सूक्ष्म अनुसन्धान अगाडि बढाएको ब्यूरोले जनाएको छ।