arrow

देशभर हुरीबतास र असिनासहितको वर्षा: मकवानपुरको गढीमा सबैभन्दा धेरै वर्षा मापन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ६ शुक्रबार
rain-drain-82-5-6.jpg

काठमाडौँ । नेपालमा अहिले पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण सातै प्रदेशका विभिन्न जिल्लामा हुरीबतास र असिनासहितको वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यो मौसमी प्रणाली अहिले पश्चिमबाट बिस्तारै उत्तरपूर्वतर्फ सरिरहेको छ।

विभागका मौसमविद् हरिप्रसाद दाहालका अनुसार देशका विभिन्न स्थानमा वर्षा भइरहेकोमा मकवानपुरको गढी क्षेत्रमा सबैभन्दा बढी ४४.२ मिलीमिटर वर्षा मापन गरिएको छ। त्यस्तै, काठमाडौँको बबरमहलमा ७.८ मिलीमिटर र कीर्तिपुरमा १६.८ मिलीमिटर वर्षा भएको उनले जानकारी दिए।

मौसमविद् दाहालले आगामी करिब तीन घण्टासम्म हुरीबताससहितको वर्षा जारी रहने सम्भावना रहेकाले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। हुरीबतासका कारण यातायात, सञ्चार तथा विद्युत् सेवाहरू प्रभावित भइरहेकाले विभागले अत्यावश्यक बाहेकका काममा घरबाहिर ननिस्कन समेत अनुरोध गरेको छ।

आज राति र भोलिसम्म मधेश प्रदेशसहित कोशी, बागमती र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भू–भागमा तीव्र गतिको हुरी चल्ने अनुमान गरिएको छ। विभागले कमजोर अवस्थामा रहेका रुखहरू ढल्न सक्ने, घरका छाना उड्ने र सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने जोखिम औँल्याएको छ।

सम्भावित क्षतिबाट बच्न र सुरक्षित रहन विभागले सबैमा आवश्यक पूर्वतयारी र सतर्कताका लागि अपिल गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ