धुलिखेल–खावा सडकखण्डमा रात्रिकालीन यातायात बन्द: दुई हप्ताभित्र कालोपत्र सक्ने लक्ष्य
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ८ आइतबार
644
Shares
काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्यलाई तीव्रता दिन सवारीसाधन आवागमनमा रोक लगाइएको छ। डिभिजन सडक कार्यालय भक्तपुरले उक्त खण्डलाई कालोपत्र (पक्की) बनाउन शनिबार रातिदेखि दुई हप्ताका लागि सडक बन्द गरेको हो।
निर्माण व्यवसायीको लापरवाहीका कारण लामो समय रोकिएको यो योजनाका लागि गत कात्तिकमा नयाँ निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो। हाल यही चैत ७ देखि २० गतेसम्म रातिको समयमा (साँझ ६:०० देखि बिहान ५:०० बजेसम्म) यातायातका साधन पूर्ण रूपमा बन्द रहने कार्यालयले जनाएको छ।
यस अवधिभर टिपर लगायतका मालवाहक सवारीसाधनलाई भने २४ सै घण्टा रोक लगाइएको सिनियर डिभिजनल इन्जिनियर सुनम योगेशले बताए। उनका अनुसार ४ किलोमिटर लामो यो सडकखण्डमध्ये चैतभित्र २.५ किलोमिटर र बाँकी भाग वैशाखसम्ममा पक्की गरिसक्ने लक्ष्य लिइएको छ।
नेपालमै पहिलोपटक मालवाहक सवारीको भार थेग्न सक्ने गरी ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको ‘बेस’ हालेर सडक बलियो बनाउन लागिएको योगेशले जानकारी दिए। ७ मिटर चौडाइको बन्ने यस सडकमा कालोपत्रपछि पहिरो व्यवस्थापनका लागि नयाँ प्रविधिको समेत प्रयोग गरिनेछ।
कार्यालयले पुरानो ठेक्का रद्द गरी सीएनएवान काली जेभीसँग भ्याटबाहेक ३१ करोड ५६ लाख रुपैयाँमा नयाँ सम्झौता गरेको हो। चिसो मौसमका कारण रोकिएको कालोपत्रको काम अहिले तापक्रम बढ्दै गएपछि सुरु गरिएको हो।
धुलिखेल–खावा खण्ड चीनसँगको उत्तरी नाका तातोपानीका साथै दोलखा र रामेछाप जाने मुख्य मार्ग हो। अघिल्लो निर्माण कम्पनी (गौरी–पार्वती निर्माण सेवा) ले २२ महिनाको अवधिमा २५ प्रतिशत पनि काम नसकेपछि कार्यालयले २०८१ फागुनमा उक्त ठेक्का रद्द गरेको थियो।
निर्माणमा भएको ढिलासुस्तीले तीन वर्षदेखि यात्रुले कष्टकर यात्रा भोग्दै आएका थिए। अब नयाँ सम्झौताअनुसार १४ महिनाभित्र सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य अघि बढाइएको इन्जिनियर योगेशले बताएका छन्।