मेघगर्जन, हावाहुरी र असिनासहित वर्षाको सम्भावना, उच्च पहाडी क्षेत्रमा हिमपात
सतर्कता अपनाउन सुझाव
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १३ शुक्रबार
952
Shares
काठमाडौँ । नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण देशका अधिकांश भू-भागमा बदली हुनुका साथै वर्षा र हिमपातको सम्भावना देखिएको छ।
आज दिउँसो देशको हिमाली भू-भागमा अधिकांश बदली रहनेछ भने पहाडी भू-भागमा साधारणतया बदली र तराईमा आंशिक बदली हुनेछ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। यस्तै, अन्य प्रदेशका पहाडी र हिमाली भू-भागका केही स्थानहरू र तराईका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित वर्षा हुने देखिएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको छ।
आज राति देशको हिमाली भू-भागमा साधारणतया बदली रहनेछ भने पहाडी तथा तराईका क्षेत्रमा आंशिक बदली हुनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका साथै अन्य हिमाली क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
वर्षा र हावाहुरीको सम्भावना रहेकाले कृषि, पदयात्रा र दैनिक जनजीवनमा सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।