देशमा न्यून चापीय प्रणाली र स्थानीय वायुको दोहोरो प्रभाव, यस्तो रहनेछ आजको मौसम
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २६ बिहिबार
818
Shares
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको दोहोरो प्रभाव रहेकाले देशभरिको मौसममा बदली आएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थान, कोशी प्रदेशका पहाडी भाग तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रहने र बाँकी क्षेत्रमा आंशिक बदली रहने देखिन्छ। यसैगरी कोशीसहित पहाडी र हिमाली क्षेत्रका केही स्थानका साथै मधेश प्रदेशका थोरै स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ।
आज रातिको समयमा कोशी प्रदेशलगायत देशका हिमाली भागमा साधारणतया बदली रहनेछ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बदली र तराई भेगमा मौसम मुख्यतया सफा रहनेछ। राति कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थान र अन्य हिमाली क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ।
वर्षा, चट्याङ र हिमपातको जोखिम रहेका स्थानमा बसोबास गर्ने सर्वसाधारण तथा ती क्षेत्रमा यातायातका साधन सञ्चालन गर्ने चालकहरूलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले विशेष अनुरोध गरेको छ।