arrow

कांग्रेस दुबो हो हराउँदै-मौलाउँदै जान्छ, अहिलेको परिवर्तनबाट आत्तिन पर्दैन : ढुंगाना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २८ शनिबार
bhim-dhungana-dhading.jpg

पोखरा । नेपाली कांग्रेस, धादिङ-पोखरा सम्पर्क समितिको शुभकामना आदान-प्रदान, सम्मान एवं भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम उद्घाटन गर्दै नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले कांग्रेसले आफ्नो गन्तव्य पहिल्याएर अघि बढ्नुपर्नेमा जोड दिए। उनले विगतकाे ब्याज खाएरमात्र होइन अब साच्चिकै सुधार गरेर कांग्रेसलाई अघि बढाउन आवश्यक रहेको बताए।

विगतमा पनि प्रत्येक १० वर्षमा जनताले मत परिवर्तन गर्ने गरेको र अहिले पनि त्यही भएको भन्दै ढुंगानाले यसबाट कोही आत्तिन नपर्ने स्पष्ट पारे ।

उनले कांग्रेस दुबो हो हराउँदै माैलाउँदै जान्छ भन्दै उनले अहिलेको परिवर्तनबाट आत्तिन नपर्ने बताए।

"नेता सेवक हाे शासक होइन । नेता तथा जनप्रतिनिधिले बाेलेकन कुरा पूरा गरेका छैनन् भने खबरदारी गर्नुस्", उनले भने ।

कांग्रेस महासमिति सदस्य सरोज अधिकारीले जनतासँग माफी मागेर, युवालाई कुरा बुझाएर अघि बढ्न सकेमात्र कांग्रेसको भविष्य सुरक्षित हुने दाबी गरे ।

उनले वर्तमान सरकारकाे आलोचनाभन्दा पाँच वर्ष के गर्छ हेरेर बस्न र शंकाको सुविधाका साथ अघि बढ्न आवश्यक रहेको बताए।

कांग्रेस धादिङका जिल्ला सदस्य यादु प्रसाद ढकालले सबै तहका नेता कार्यकर्ताले मनैदेखि कांग्रेस सुधार गर्ने संकल्प गर्नुपर्नेमा जोड दिए ।

कांग्रेस युवा नेता दीपक काेइरालाले निर्वाचनपछि कांग्रेस निकै खुम्चिनु परे पनि त्यसबाट बिचलित हुन नपर्ने बताए ।

उनले कांग्रेसले विधिकाे शासन कायम गराउने कुरामा प्रतिबद्ध रहेकाे उल्लेख गर्दै यसका लागि संसदमा सानो आकार हुँदैमा केही फरक नपर्ने बताए।

समितिका वरिष्ठ सल्लाहकार कृष्णकुमार श्रेष्ठले कांग्रेसको क्रियाकलापले जनतामा निराशा आएको बताए । अब पनि नसच्चिए कांग्रेस समाप्त हुने बाटाेमा जाने जिकिर गरे।

नेपाल खानेपानी संस्थान कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष केदार धमलाले कांग्रेसभित्र मन मिलाउन आवश्यक रहेको भन्दै विगतका कमिकमजोरीको सुधार र समीक्षा गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।

समितिका निवर्तमान सभापति लालप्रसाद पाठकले कांग्रेस कमजोर हुनुको कारण कार्यकर्ता होइन नेताकै कारण भएको भन्दै नेताले आफ्नो व्यवहार सुधार गर्नुपर्ने बताए।

पार्टीमा बसेर केही काम गर्न नसक्ने सबै नेताले अवकाश लिनुपर्नेमा उनले जोड दिए ।

नेकपा एमाले धादिङ-पोखरा सम्पर्क मञ्चका अध्यक्ष रामकुमार घिमिरेले पोखरामा रहेका धादिङवासीकाे हक हितका लागि एकताबद्ध हुन आवश्यक रहेको बताए। देशको राजनीति जे जस्तो भए पनि धादिङवासीबीचकाे मन फाट्न नहुने स्पष्ट पारे ।

कार्यक्रममा नीलकण्ठ-८ का वडाध्यक्ष प्रकाश श्रेष्ठ, समितिका पूर्वसभापति केदार धमला, निवर्तमान सभापति लालप्रसाद पाठक,  महिला सञ्जाल अध्यक्ष बबीता मल्ल, धादिङ त्रिपुरा बाराही महिला समूहका अध्यक्ष लक्ष्मी थापा, कृषि सञ्जाल अध्यक्ष विन्दा धरेललगायतले बोलेका थिए।

समिति सभापति कमलबहादुर पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ उपसभापति माधव लम्सालले स्वागत र सचिव श्यामबहादुर इटनीले सञ्चालन गरेका थिए ।

कार्यक्रममा समिति सदस्य राजेन्द्र पाण्डे, विन्दु पाण्डेलगायतलाई सम्मान गरिएको थियो ।

समिति सचिव श्यामबहादुर इटनी संयोजक, देवराज अर्याल, लालप्रसाद ढकाल, भूपेन्द्र सिलवाल र राजेन्द्र पाण्डे सदस्य रहेको समितिले २०८३ सालको भित्तेपात्रो प्रकाशन गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ