रग्बी सेभेन्समा पुरुषमा एपीएफ र महिलामा आर्मी च्याम्पियन
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २९ आइतबार
2.9k
Shares
काठमाडौँ । अपराजित रहँदै विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब पुरुष तथा महिला राष्ट्रिय रग्बी सेभेन्समा च्याम्पियन भएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न प्रतियोगितामा एपीएफ पुरुषमा र आर्मी महिलामा अपराजित रहँदै च्याम्पियन भएका हुन् ।
महिलातर्फ भएको फाइनलमा आर्मीले एपीएफलाई २२–१२ अंकले हरायो । यी दुई बीच लिग चरणमा पनि भेट भएको थियो । उक्त भेटमा पनि आर्मीले एपीएफलाई १४–५ अंकले हराएको थियो । जुन लय फाइनलमा पनि जारी राख्दा आर्मी अपराजित रहँदै च्याम्पियन भयो । पुरुषतर्फ एपीएफ विभागीय प्रतिद्वन्द्वी आर्मीमाथि १०–५ को प्रतिस्पर्धात्मक जित निकाल्दै च्याम्पियन बन्न सफल भयो ।
एपीएफ पनि अपराजित रहँदै च्याम्पियन भएको हो । समूहमा आर्मी र एपीएफ दुवै विजेता हुन् । फाइनलमा भने आर्मीले लय जारी राख्न सकेन । महिलामा बागमती प्रदेश र पुरुषमा गण्डकी प्रदेश तेस्रो भए । पुरुषमा तेस्रो स्थानका लागि भएको खेलमा गण्डकीले कोशी प्रदेशलाई १२–७ अंकले हरायो ।
महिलामा भने बागमतीले कर्णाली प्रदेशलाई ५–० अंकले हराउँदै तेस्रो स्थानमा प्राप्त गर्यो । यसअघि समूह चरणमा पनि बागमती र कर्णालीबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेल भने १०–१० अंकको बराबरीमा सकिएको थियो । यसपल्ट प्रतिस्पर्धात्मक भए पनि बागमतीले बाजी मार्यो ।
प्रतियोगितामा पुरुषतर्फ एपीएफका रोहन ढंगोल उत्कृष्ट खेलाडी घोषित भए । महिलामा भने आर्मीकी कुमारी श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भइन् । उत्कृष्ट दुवैले समान पाँच हजार रुपैयाँसहित ट्रफी हात पारे ।
आइतबार नै लिगचरणको एक खेलसँगै सेमिफाइनलका प्रतिस्पर्धा भएको थियो । पुरुषतर्फ सेमिफाइनलमा आर्मीले कोशी प्रदेशलाई ४१–५ को फराकिलो अन्तरले हराउँदा एपीएफले गण्डकी प्रदेशलाई २४–० ले पन्छाएको हो ।
महिलातर्फ भने एपीएफले बागमती प्रदेशलाई ३९–० अंक र आर्मीले कर्णाली प्रदेश ३६–० अंकले हराउँदै उपाधि भिडन्त तय गरेका थिए ।
प्रतियोगितामा विजेता टोलीले ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी प्राप्त गरे । नेपाल रग्बी संघको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा महिला र पुरुष गरी कुल १४ टोलीको सहभागिता रहेको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का निवर्तमान सदस्यसचिव तथा एसिया रग्बीका उपाध्यक्ष टंकलाल घिसिङ, नेपाल रग्बी संघका वरिष उपाध्यक्ष चेतनराज गिरी र महासचिव गोविन्द घिमिरेलगायत विजेतालाई पुरस्कृत गरेका थिए ।