arrow

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव: वर्षा र हिमपातको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २ बुधबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले गर्दा मौसममा सामान्य बदलाब देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशको हिमाली भूभागमा साधारणतया बदली र पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा छ। 

यतिबेला कोशी प्रदेशको पहाडी र हिमाली क्षेत्रका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपात भइरहेको छ।

आज दिउँसो पनि कोशी प्रदेशको पहाडी र हिमाली भेगमा साधारणतया बदली रहने र बाँकी पहाडी क्षेत्रमा आंशिक बदलीको अवस्था रहनेछ। तराईका जिल्लाहरूमा भने घाम लाग्ने र मौसम सफा रहने अनुमान गरिएको छ। 

कोशी प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थानहरू तथा गण्डकी प्रदेशको पहाडी भूभाग लगायत अन्य हिमाली क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

आज राति पनि पहाडी र हिमाली भेगमा मौसम पूर्णतया सफा हुने छैन। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने र अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहने देखिन्छ। रातिको समयमा पनि यी तीन प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ। तराईमा भने राति पनि मौसम सफा नै रहनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ