महाधिवेशनअघि कांग्रेस सक्रिय, समिति गठनदेखि देउवा-थापा संवादसम्म [भिडियो]
समयमै महाधिवेशन गर्न नेताहरूसँग वार्ता गर्ने जिम्मा गगन थापालाई, दलहरूसँगको संवाद गर्ने जिम्मा अर्जुननरसिंह केसीलाई
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २ बुधबार
843
Shares
काठमाडौँ। नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनलाई समयमै सम्पन्न गर्न र पार्टी संगठनलाई चुस्त बनाउन विभिन्न महत्वपूर्ण समिति गठन गरेको छ।
पार्टी प्रवक्ता देवराज चालिसेले बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले महाधिवेशनको तयारी, निर्वाचन ब्युरो र राजनीतिक संवादका लागि नेताहरूलाई जिम्मेवारी तोकेको बताएका छन्।
बैठकले महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्न तथा पार्टीभित्र देखिएका असन्तुष्टि सम्बोधन गर्न सभापति गगनकुमार थापालाई पूर्वसभापति शेरबहादुर देउवा पक्षसँग संवाद गर्ने जिम्मेवारी दिएको छ।
पुराना नेता र पूर्व पदाधिकारीसँग छलफल गरी महाधिवेशनका लागि उपयुक्त वातावरण निर्माण गरिने चालिसेले बताए।
नीति तथा अनुसन्धान प्रतिष्ठान उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा गठन गर्ने निर्णय भएको छ, जसले कार्यकर्ताहरूलाई प्रशिक्षण र नेतृत्व विकासका कार्यक्रम सञ्चालन गर्नेछ।
उपसभापति पुष्पा भुसालको संयोजकत्वमा स्थायी प्रकृतिको ‘निर्वाचन ब्यूरो’ गठन गरिएको छ। यसले निर्वाचन रणनीति निर्माण, सूचना संकलन तथा सम्भावित उम्मेद्वार पहिचान गर्नेछ।
महामन्त्री गुरुराज घिमिरेको संयोजकत्वमा सह-महामन्त्री बद्री सिंह लामा र मुक्ता यादव सदस्य रहेको संगठन सञ्चालन तथा समन्वय संयन्त्र गठन गरिएको छ।
यस्तै, १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता व्यवस्थापन गर्न महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा सह-महामन्त्री योगेन्द्र चौधरी र प्रकाश स्नेही सदस्य रहेको समिति गठन गरिएको छ।
संसदभित्र र बाहिर रहेका दलहरूसँग राष्ट्रिय मुद्दामा संवाद र सहकार्य गर्न वरिष्ठ नेता अर्जुननरसिंह केसीको नेतृत्वमा वार्ता समिति बनाइएको छ।
गत भदौ २३ र २४ गतेको घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अध्ययन गर्न वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ।
उक्त प्रतिवेदनबारे थप छलफल गरी पार्टीले औपचारिक धारणा सार्वजनिक गर्ने चालिसेले बताए।
अनुशासन समितिले पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग स्पष्टीकरण मागेको विषयमा बोल्दै चालिसेले पार्टी विधानभन्दा माथि कोही नभएको बताए।
अनाधिकृत रूपमा पार्टी लेटरप्याड प्रयोग भएको विषयमा समिति आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गरिरहेको उनको भनाइ छ।
सरकारले ल्याएको राष्ट्रिय प्रतिबद्धताको साझा अवधारणा तथा संविधान सुधारका विषयमा कांग्रेसले अध्ययन गरिरहेको पनि उनले बताए।
यसले बहुदलीय व्यवस्था, संसदीय प्रणाली र कार्यान्वयनमा पार्ने प्रभावबारे थप विश्लेषण आवश्यक रहेको भन्दै चालिसेले भोलिको बैठकले यसबारे निर्णय लिने जानकारी दिए।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको अर्को बैठक बिहीबार दिउँसो १ बजे बस्नेछ।