मनसुनजन्य विपद् न्यूनीकरणका लागि विभागको चौबीसै घण्टा उच्च सतर्कता, यस्तो छ तयारी
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३ बिहिबार
755
Shares
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनलाई मध्यनजर गर्दै सम्भावित प्राकृतिक विपद्बाट हुन सक्ने जनधनको क्षति कम गर्न विशेष आपत्कालीन कार्ययोजना सार्वजनिक गरेको छ।
विभागका निमित्त महानिर्देशक अर्चना श्रेष्ठका अनुसार मनसुन अवधिभर मौसम र बाढी पूर्वानुमान महाशाखाहरूले चौबीसै घण्टा सेवा प्रदान गर्नेछन् भने दैनिक दुई पटक नियमित मौसम बुलेटिन सार्वजनिक गरिनेछ। विशेष र जोखिमपूर्ण मौसमी अवस्थामा तीनदेखि पाँच दिन अगावै चेतावनीमूलक बुलेटिन र रङ्ग सूचकसहितको नक्सा प्रकाशन गरिने तयारी विभागको छ।
बाढी जोखिम न्यूनीकरणका लागि कोशी, गण्डकी र कर्णाली जस्ता प्रमुख नदीहरूमा तीन दिनअगावै र ठूलो बाढीको सम्भावना भएमा पाँच दिनअगावै पूर्वानुमान जारी गरिनेछ। साना नदीहरूमा आकस्मिक बाढी आउनु दुईदेखि ६ घण्टा अगावै सूचना दिने प्रणाली विकास गरिएको छ भने स्थानीय तहसम्म पूर्वसूचना पुर्याउन नेपाल टेलिकम र एनसेलमार्फत निःशुल्क एसएमएस पठाउने व्यवस्थालाई थप सुदृढ बनाइएको छ।
सर्वसाधारणले बाढी र मौसमसम्बन्धी जानकारीका लागि टोल-फ्री नम्बर ११५५ मा चौबिसै घण्टा सम्पर्क गर्न सक्नेछन्। पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन विभागले गृह मन्त्रालय र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग प्रत्यक्ष समन्वय गर्दै आधिकारिक वेबसाइट र सामाजिक सञ्जालमार्फत पनि नियमित अपडेटहरू प्रदान गर्नेछ।