काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न भूभागमा मौसममा परिवर्तन देखिएको छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा अहिले सामान्य बदली रहेको छ भने मधेस र कोसीको तराई क्षेत्रमा आंशिक बदली छ। अन्य भूभागमा भने मौसम मुख्यतया सफा छ।
कोसी प्रदेशसहित देशका पहाडी र हिमाली भूभागमा दिउँसो सामान्य बदली रहनेछ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भेगका एक-दुई स्थानमा हल्का हिमपात हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने गर्मी बढ्ने र तातो दिन (Heat Wave) हुने सम्भावना छ। ती क्षेत्रका बासिन्दालाई बढ्दो गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ।
रातीको समयमा हिमाली भूभागमा सामान्य बदली र पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा भने मौसम सफा रहने देखिन्छ। कोसी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगका केही स्थानमा राती पनि हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहनेछ।