पहाडी भू-भागमा वर्षा र हिमपातको सम्भावना, तराईमा 'तातो दिन'
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ७ सोमबार
577
Shares
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी नेपाल नजिक रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले देशका विभिन्न भू-भागको मौसममा बदलाव आएको छ।
महाशाखाले जारी गरेको पछिल्लो बुलेटिनअनुसार कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा समेत हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ।
तराई क्षेत्रको मौसम भने केही फरक रहने देखिएको छ। मधेस प्रदेशका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा 'तातो दिन' हुने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।
तराईमा मौसम मुख्यतया सफा रहने भए तापनि बढ्दो तापक्रमले जनजीवन प्रभावित हुन सक्ने देखिन्छ। पहाडी क्षेत्रमा आंशिक बदली रहे पनि तराईमा घाम लाग्ने भएकाले गर्मी बढ्ने बुलेटिनमा जनाइएको छ। कोशी, गण्डकी र कर्णालीका हिमाली क्षेत्रमा भने हल्का हिमपातको सम्भावना कायमै रहेको छ।