नेपालमा पश्चिमी स्थानीय वायु र न्यून चापीय प्रणालीको आंशिक प्रभाव
देशका केही भागमा हिमपात, तराईमा तातो लहरको सम्भावना
सतर्कता अपनाउन विभागको अनुरोध
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ८ मंगलबार
646
Shares
काठमाडौँ । हाल नेपालमा पश्चिमी स्थानीय वायु र पूर्वी नेपाल नजिक रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यसका कारण हिमाली भू-भागमा साधारणतया बादल लाग्ने र केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा वा हिमपातको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाद्वारा जारी बुलेटिनअनुसार कोशी प्रदेशको पहाडी र तराई तथा अन्य पहाडी क्षेत्रमा आंशिक बदली हुनेछ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। हिमाली क्षेत्रका एक-दुई स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना देखिएको छ।
गर्मीको सन्दर्भमा, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र, उपत्यका तथा खोँचहरूमा तातो दिन हुने प्रक्षेपण गरिएको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर (लु) चल्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
आज राति भने पहाडी र तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। यद्यपि, कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।