देशका विभिन्न भू-भागको मौसममा बदलाब, तराईमा तातो लहरको जोखिम यथावत
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ९ बुधबार
640
Shares
काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेका कारण देशका विभिन्न भू-भागमा मौसममा बदलाब देखिएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ भने केही स्थानमा हल्का वर्षा समेत भइरहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने देखिएको छ। कर्णाली र कोशीका पहाडी क्षेत्रमा पनि आंशिक बदली हुनेछ भने बाँकी भू-भागमा मौसम सफा रहनेछ। विशेषगरी कोशीको पहाडी र हिमाली क्षेत्रका साथै बागमती र गण्डकीका हिमाली भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहे पनि तराई र उपत्यकाहरूमा भने गर्मीको चर्को प्रभाव रहनेछ। मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र, उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भू-भागमा तातो लहर (हिट वेभ) चल्न सक्ने देखिएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी क्षेत्रको मौसम भने मुख्यतया सफा रहने अनुमान गरिएको छ। कोशी प्रदेशको हिमाली क्षेत्रका एक-दुई स्थानमा राति पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
तापक्रम बढ्ने र तातो लहर चल्ने सम्भावना रहेका क्षेत्रका बासिन्दालाई घामबाट बच्न र आवश्यक स्वास्थ्य सावधानी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।