सर्वसम्मत संसदीय दलको नेता चुन्न देउवा पक्ष बाधक, आचार्य र आङदेम्बेबीच भिडन्त
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ११ शुक्रबार
1.3k
Shares
तस्बिर : फाइल
काठमाडौँ । संसदको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अहिलेसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन । सर्वसम्मत चयनका लागि भएको प्रयासमा शेरबहादुर देउवा पक्ष बाधक बनेसँगै आज निर्वाचन प्रक्रियामार्फत दलको नेता टुङ्गो लगाइँदैछ ।
सभापति गगनकुमार थापाले सहमतिका लागि प्रयास गरेका थिए । त्यो प्रयासमा देउवा पक्षले अवरोध गरेसँगै निर्वाचन प्रक्रियाबाट टुङ्गो लाग्ने भएको हो ।
देउवा पक्षबाट भीष्मराज आङ्देम्बेले उम्मेदवारी दिने भएका छन् । देउवा पक्षले आगामी १५ औँ महाधिवेशनका लागिसमेत आफ्नो पकडलाई बलियो बनाउन अहिलेदेखि नै योजना बुनेसँगै सभापति थापाले लोकतान्त्रिक पार्टी निर्वाचनबाट पछि हट्न नहुने भन्दै निर्वाचनका लागि राजी भएका हुन् ।
कांग्रेसको संस्थापन पक्षबाट मोहन आचार्यले उम्मेदवारी दिँदैछन् । इञ्जिनियर आचार्यले रसुवाबाट चुनाव जित्दै आएका छन् ।
यसअघि सहमति भएका खण्डमा सबैभन्दा अनुभवी नेता अर्जुननरसिंह केसीले पनि संसदीय दलको नेतामा इच्छा देखाएका थिए । तर प्रतिस्पर्धामा जान उनले उचित ठानेनन् ।
अर्कातर्फ अहिलेको परिवर्तन जेन–जी आन्दोलनको रूप भएको भन्दै युवाबाट संसदीय दलको नेता हुनुपर्नेमा जोड हुँदै आएको थियो ।
संसदीय दलको नेता प्रमुख प्रतिपक्ष दलको नेता नै हुने भएकाले अहम् जिम्मेवारी बहन गर्न सक्ने हुनुपर्नेमा जोड दिँदै आइएको छ ।
देउवा पक्षको महाधिवेशन रणनीतिअन्तर्गत उम्मेदवारी
संसदीय दलको नेता देउवा पक्षबाट नहुने निश्चित जस्तै छ । यद्यपि आफ्नो दरिलो उपस्थिति जनाउनका लागि देउवा पक्षले सर्वसम्मत संसदीय दलको नेता चयन गर्न नमानेको हो ।
सर्वोच्च अदालतले सभापति नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिएपछि पनि देउवा पक्षले अन्य विकल्प नभएपछि महाधिवेशनलाई प्रतिस्पर्धी बनाउन आफ्नो उम्मेदवारी दिने बताएको हो ।
निर्वाचन तालिकाः
पार्टीले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ता दिउँसो ३ बजे हुनेछ ।
४ः३० सम्म उम्मेदवारको नाम फिर्ता लिने समय तोकिएको छ । मतदान प्रक्रिया साँझ ५ बजेपछि शुरू गरिने तालिका तय गरिएको छ ।
आवश्यक प्रक्रिया पश्चात् मतदान सम्पन्न गरी नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ ।
समीकरण कस्तो छ ?
प्रतिनिधि सभामा नेपाली कांग्रेसका ३८ जना सांसद रहेका छन्, जसले आज हुने मतदानमा सहभागी भई नयाँ दलको नेता छान्नेछन् ।
यो निर्वाचनलाई कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलन र आगामी राजनीतिक दिशाका दृष्टिले निकै महत्त्वपूर्ण मानिएको छ ।
दलको नेता चयन भएसँगै संसदमा कांग्रेसको भूमिका र प्रतिपक्षी मोर्चाको रणनीति अझ स्पष्ट हुने छ ।
समीकरणअनुसार संस्थापन बलियो छ । जस्तोसुकै परिणाम आए पनि आन्तरिक रूपले आफूहरूको पनि अस्तित्व देखाउन देउवा पक्षले उम्मेदवार खडा गर्ने बुझिएको हो ।
एक पूर्व केन्द्रीय सदस्यका अनुसार यो संसदीय दलको नेता चुन्ने नभइ १५ औँ महाधिवेशनका लागि आफूहरूको तयारीका लागिसमेत देउवा पक्षले लिएको छ ।
सर्वोच्चबाट मुद्धा हारे पनि १५ औँ महाधिवेशनमा सहभागी भएर पार्टीमा फेरि पकड जमाउन देउवा पक्षले अहिलेदेखि नै तयारी थालेको हो ।
अर्कातर्फ केही भोट क्रस हुन सक्ने आँकलनसमेत भइरहेको छ ।