काठमाडौँ। सरकारले थापाथलीस्थित सुकुमवासी बस्ती खाली गराउने कार्यलाई तीव्र बनाएको छ। बस्ती हटाउने क्रममा उल्लेखनीय संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीका अनुसार हालसम्म वास्तविक रूपमा ‘होमलेस’ अर्थात् बसोबासविहीन व्यक्ति फेला नपरेको बताएका छन् ।
उनले भने, ‘अहिलेसम्म वास्तविक होमलेस भेटेका छैनौँ। जो अशक्त, वृद्ध, गर्भवती महिलाहरू हुनुहुन्थ्यो, उहाँहरूले जहाँ जान्छु भन्नुभयो, त्यहीँ पठाएका छौँ। ठाउँ छैन भनेर एक जना पनि आउनुभएको छैन। दुईटा परिवारलाई बिरामी भएर अस्पताल पुर्याएका छौँ। उहाँहरूको सामान पुर्याउन चार ओटा ट्रक पनि परिचालन गरेका छौँ। भित्र ट्रस, टहराहरूबाट सामान बाहिर निकाल्ने काम भइरहेको छ ।’
उनले थपे, ‘होमलेस नभएकाहरू सबै आआफ्नो गन्तव्यतिर लागिरहनुभएको छ। कोही होमलेस हुनुहुन्छ भने आउनुस् भन्दा कोही आउनुभएकै छैन ।’
नगर प्रहरी प्रमुख जोशीका अनुसार संघीय प्रहरीको संख्या यकिन नभए पनि काठमाडौँ महानगरपालिकाले दुई सय नगर प्रहरी परिचालन गरेको छ ।