कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बेको नाम प्रस्ताव [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १४ सोमबार
249
Shares
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बेको नाममा सहमति जुटेको छ। पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेताका लागि आङ्देम्बेको नाम सर्वसम्मत रूपमा प्रस्ताव गरेको पार्टी प्रवक्ता देवराज चालिसेले बताए। चालिसेका अनुसार सहमति जुटाउन उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको समितिले सहजीकरण गरेको थियो।
कार्यसम्पादन समितिको उक्त प्रस्तावलाई सबै सदस्यले स्वीकार गरेको खण्डमा आङ्देम्बे निर्विरोध रूपमा संसदीय दलको नेतामा चयन हुनेछन्। प्रवक्ता चालिसेले यदि यस प्रस्तावमा सहमति हुन नसकेको खण्डमा लोकतान्त्रिक प्रक्रिया अर्थात् निर्वाचनमार्फत नेता चयन गरिने जानकारी दिए। उनले भने, "सहजीकरणका लागि जिम्मेवारी दिइएको समितिले सबै साथीहरूसँग सल्लाह गरेर पार्टीको तर्फबाट एक जनाको नाम प्रस्ताव गरेको छ। त्यो प्रस्तावलाई साथीहरूले स्वीकार गरेको अवस्थामा उहाँ निर्विरोध दलको नेता हुनुहुनेछ, नभए हामी निर्वाचनमा जान्छौँ।"
आजै संसदीय दलको कार्यालयमा बस्ने बैठकले यस विषयमा औपचारिक निर्णय गरी संसदीय दलको नेता चयन गर्ने कार्यक्रम रहेको छ। आङ्देम्बेको नाममा दलभित्र मोटामोटी सहमति बनेकाले उनी निर्विरोध निर्वाचित हुने सम्भावना प्रबल देखिएको छ।