मूल्यवृद्धिप्रति कांग्रेसको चिन्ता, बजार अनुगमन र सुकुमवासी समस्यामा सरकारको ध्यानाकर्षण
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १४ सोमबार
1.3k
Shares
काठमाडौँ । नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण बजारमा अचाक्ली महँगी बढेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ। पार्टीका प्रवक्ता देवराज चालिसेले सीमानाकामा देखिएका कठिनाइ र इन्धनको मूल्य वृद्धिका कारण सर्वसाधारणको दैनिक जीवन र चुलो प्रत्यक्ष प्रभावित भएको बताए। उनले बजारमा व्याप्त कृत्रिम अभाव र अनियन्त्रित मूल्यवृद्धिलाई कडाइका साथ अनुगमन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रवक्ता चालिसेले गत भदौ २३ र २४ गते भएको जनधनको क्षतिको विषयमा सरकार मौन रहेको भन्दै प्रश्न उठाएका छन्। उनले उक्त घटनाबारे जनताले विश्वास गर्ने गरी उच्चस्तरीय अनुसन्धान समिति गठन गर्न पार्टीले बारम्बार माग गरिरहेको स्पष्ट पारे। सरकारले यस्ता संवेदनशील विषयमा देखाएको उदासीपनप्रति उनले असन्तुष्टि जनाएका छन्।
सुकुमवासी समस्याको सन्दर्भमा बोल्दै चालिसेले कुनै पनि नागरिक घरबारविहीन हुन नहुने धारणा राखे। संविधानले ग्यारेन्टी गरेको गाँस, बास, खाद्य सुरक्षा र रोजगारीको अधिकार संरक्षण गर्नु सरकारको अभिभावकीय दायित्व भएको उनको तर्क छ। गैरकानुनी र अतिक्रमित क्षेत्र खाली गराउने विषय सरकारको क्षेत्राधिकारभित्र परे पनि जनताको आधारभूत स्वतन्त्रता र अधिकारको रक्षा हुनुपर्नेमा उनले जोड दिएका छन्।