arrow

कोशी र गण्डकीमा भारी वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १६ बुधबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव देखिएको छ। यसका कारण देशका अधिकांश पहाडी र हिमाली क्षेत्रमा बादल लाग्नुका साथै वर्षा र हिमपातको सम्भावना बढेको छ।

आज दिउँसो देशभरका पहाडी र हिमाली भू-भागमा बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपात हुने सम्भावना छ। 

कर्णाली र सुदूरपश्चिम प्रदेशका केही पहाडी क्षेत्रमा पनि वर्षाको सङ्केत देखिएको छ। विशेषगरी कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने र तराईका केही क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेकाले सावधानी अपनाउन आवश्यक छ।

राति पनि मौसममा सुधार हुने देखिँदैन। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरैजसो स्थानमा मध्यम वर्षा र हिमपात जारी रहनेछ। महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना छ। साथै, देशका तराई भू-भागका विभिन्न स्थानमा हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ।

वर्षा, हिमपात र हावाहुरीले दैनिक जनजीवन र यातायातमा प्रभाव पार्न सक्ने भएकाले सर्वसाधारणलाई सतर्क रहन र मौसम सम्बन्धी पछिल्लो जानकारी लिइरहन अनुरोध गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ