काठमाडौँ । प्रतिकूल मौसमका कारण आज दिउँसोदेखि हवाई उडान प्रभावित बनेको छ । काठमाडौँसहित देशका विभिन्न ठाउँमा भएको प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको उडान प्रभावित बनेको विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए ।
उनका अनुसार सिमरा, पोखरा, विराटनगर र भैरहवाको उडानमा ढिलाइ भइरहेको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार प्रतिकूल मौसमका कारण अन्तरराष्ट्रिय क्षेत्रबाट आएका केही जहाज पनि अहिले आकाशमा होल्डमा छन् ।
मौसममा सुधार आएसँगै आन्तरिकतर्फका सबै उडान पुनः शुरू हुने कार्यालयले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले मंगलबार नै बुधबारको मौसम प्रतिकूल हुने चेतावनी दिएको थियो । अहिले अधिकांश स्थानमा वर्षा भएको छ ।