देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव: पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १८ शुक्रबार
272
Shares
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा विकसित भएको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यस मौसमी प्रणालीका कारण कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका अधिकांश हिमाली तथा पहाडी भू-भागमा सामान्यतया बादल लागेको छ भने अन्य क्षेत्रमा आंशिक बदलीको अवस्था रहेको छ। हाल बागमती, गण्डकी, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागमा सामान्यतया बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा आंशिक बदली हुने सम्भावना छ।
कोशी र मधेश प्रदेशका साथै देशका हिमाली तथा पहाडी भागहरू, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान र सुदूरपश्चिमको तराईका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यसैगरी आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै हिमाली तथा पहाडी भू-भागमा अधिकांश बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली हुने देखिएको छ। रातिको समयमा पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षा र हिमपातको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ।