arrow

रास्वपा सचिवालय बैठक

चैतमसान्तसम्म सुकुमवासीको व्यवस्थापन गरिसक्न सरकारलाई रास्वपाको सुझाव

सुकुमवासीहरूको यथार्थ लगत संकलन नगरेसम्म अव्यवस्थित रूपमा डोजर चलाउने कार्य रोक्न पनि सरकारलाई सुझाव

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २० आइतबार
manish-jahass.jpg

काठमाडौँ ।  सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूमिहीन सुकुमवासीहरूको स्थानान्तरण र व्यवस्थित पुनस्र्थापनाको काम आगामी चैत मसान्तभित्र गरिसक्न सरकारलाई सुझाव दिएको छ। आइतबार बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।

प्रवक्ता झाका अनुसार रास्वपाले चैत मसान्तभित्र सबै सुकुमवासीलाई सुरक्षित आवासमा स्थानान्तरण गरी गाँस, वास र स्वास्थ्यको न्यूनतम व्यवस्था सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ। विशेष गरी काठमाडौँ उपत्यकाका खोलाकिनारमा जोखिमपूर्ण अवस्थामा बसोवास गरिरहेका नागरिकलाई बाढी आउनुअगावै सुरक्षित स्थानमा सार्नुपर्नेमा पार्टीले जोड दिएको उनले बताए।

बैठकले अधिकार सम्पन्न प्राधिकरण गठन गरी सुकुमवासीहरूको यथार्थ लगत संकलन नगरेसम्म अव्यवस्थित रूपमा डोजर चलाउने कार्य रोक्न पनि सरकारलाई सुझाव दिएको छ। अवैध अतिक्रमण वा अपचलनको उद्देश्यले निर्माण गरिएका संरचना बाहेक अन्य स्थानमा जबर्जस्ती हटाउने कार्य तत्काल बन्द गर्नुपर्ने प्रवक्ता झाको भनाइ छ। उनले भने, "प्राधिकरणले लगत उपलब्ध नगराएसम्म अतिक्रमण गरिएका संरचना बाहेक अन्य ठाउँमा डोजर चल्ने छैन भन्ने कुरामा हामी स्पष्ट छौँ।"

यसैगरी, सचिवालय बैठकले आगामी स्थानीय तहको निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवार बन्ने सदस्यले अनिवार्य रूपमा 'क्यान्डिडेट क्लब' र 'लीडरशिप एकेडेमी' उत्तीर्ण गरेको हुनुपर्ने निर्णय गरेको छ।

बैठकले पार्टीको आगामी महाधिवेशनका लागि कार्यविधि समेत पारित गरेको छ। महाधिवेशनको मिति र स्थान भने केन्द्रीय समितिको आगामी बैठकले तय गर्ने प्रवक्ता झाले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ