पश्चिमी र स्थानीय वायुका साथै न्यून चापीय क्षेत्रको प्रभाव, देशभर बादल र वर्षाको सम्भावना
सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा भारी वर्षाको चेतावनी
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २१ सोमबार
286
Shares
काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। साथै, नेपालको दक्षिणतिर पूर्वदेखि पश्चिमसम्म फैलिएको न्यून चापीय रेखाको समेत प्रभाव रहेकाले देशभरको मौसममा बदली देखिएको छ।
अहिले मधेस प्रदेशसहित देशका हिमाली र पहाडी भूभागमा साधारणतया बदली रहेको छ भने तराईका क्षेत्रमा आंशिक बदली छ। कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्ने देखिन्छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी तराईका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। विशेष गरी सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज राति पनि देशभर साधारणतया बदली नै रहने छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। रातिको समयमा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।