देशभर हुरीबतास र चट्याङसहित भारी वर्षाको सम्भावना: सतर्क रहन विभागको आग्रह
पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २१ सोमबार
538
Shares
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबतास र चट्याङसहित भारी वर्षा गराउने शक्तिशाली मौसम प्रणाली सुदूरपश्चिमबाट पूर्वतिर सर्दै गरेको जानकारी दिएको छ । यस प्रणालीको प्रभावले काठमाडौँ उपत्यकासहित बागमती र मधेस प्रदेशका अधिकांश स्थानमा वर्षा सुरु भइसकेको छ ।
मौसमविद् सञ्जिव अधिकारीका अनुसार सुदूरपश्चिमबाट सुरु भएको यो वर्षा प्रणाली लुम्बिनी हुँदै बागमती र मधेस प्रदेशसम्म फैलिसकेको छ । हुरीबतासको गति करिब ४० किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने र केही स्थानमा यसको प्रभाव करिब दुई घण्टासम्म रहने देखिएको छ । आज विशेष गरी भारी वर्षाको सम्भावना रहे पनि साँझपछि वर्षा केही कम हुने अनुमान गरिएको छ, यद्यपि साताभर नै यो प्रणाली सक्रिय रहने विभागले जनाएको छ ।
हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव रहेको छ । साथै, नेपालको दक्षिणी भू-भाग हुँदै पूर्वदेखि पश्चिमसम्म फैलिएको न्यून चापीय रेखाले समेत मौसममा प्रभाव पारिरहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ ।
मङ्गलबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ भने बुधबार पनि पहाडी तथा हिमाली भू-भागमा मेघगर्जनसहित वर्षा हुने देखिएको छ । हुरीबतास, चट्याङ र सम्भावित भारी वर्षाबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि विभागले सबैलाई उच्च सतर्कता अपनाउन विशेष आग्रह गरेको छ ।