आफ्नै सरकारमाथि रास्वपा सांसद खतिवडाको प्रश्न - न्यायका लागि सडकमा कहिलेसम्म लडिरहने ? [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २२ मंगलबार
256
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले न्यायका लागि आम नागरिक कहिलेसम्म सडकमा सङ्घर्ष गरिरहनुपर्ने हो भन्दै सरकारसँग कडा प्रश्न उठाएकी छन् ।
प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको सोमबारको बैठकमा बोल्दै खतिवडाले ७६ जनाको ज्यान गएको घटनाका पीडित परिवार अझै न्यायबाट वञ्चित रहेको बताएकी छन् । उनका अनुसार पीडितहरू विगत छ/सात महिनादेखि निरन्तर सडक आन्दोलनमा छन् ।
मन्त्रीहरूलाई लक्षित गर्दै उनले पीडित परिवारको मर्यादा र उनीहरूको मागप्रति संवेदनशील हुन आग्रह गरिन् ।
उनका अनुसार ७६ जनाको ज्यान गएको घटनामा एक जना संसदमा हुनुहुन्छ भने बाँकी ७५ जना अहिले पनि न्यायका लागि सडकमै छन्।
आफ्ना माग लिएर मन्त्रीको कार्यकक्षमा पुग्दा ढोकामै सुरक्षाकर्मीबाट दुव्यवहार सहनुपरेको छ, यो अत्यन्तै दुःखद् भएको उनको दुखेसो छ।
उनले न्यायका लागि बालबालिकासमेत सडकमा उत्रिनुपर्ने अवस्था किन कायम छ भन्ने प्रश्न उठाउँदै शहीद परिवारले कहिले न्याय पाउने हो भन्नेबारे स्पष्टता माग गरिन् ।
खतिवडाले न्याय प्राप्तिका लागि सधैँ आन्दोलनमै निर्भर रहनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताइन् ।
राज्यका निकायबाटै सहज रूपमा न्यायको अनुभूति हुनुपर्नेमा जोड दिँदै उनले पीडित परिवारको पक्षमा आफूले यो विषय उठाएको जानकारी गराइन् ।
शहीद परिवारलाई अविलम्ब न्याय प्रदान गर्न सरकारसँग माग गर्दै उनले न्याय ढिलाइ हुनु नै अन्याय हुनेतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।