देशभर बदली, मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २४ बिहिबार
328
Shares
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव रहेको छ। यसका कारण बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी प्रदेशको हिमाली क्षेत्रमा साधारणतया बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदली देखिएको छ। अहिले गण्डकी, लुम्बिनी, बागमती र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बदली रहने र तराई भूभागमा आंशिक बदली हुने सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै, तराईका थोरै स्थानहरूमा पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
आज राती कोशी प्रदेश र देशका अन्य हिमाली भूभागमा साधारणतया बदली रहने तथा बाँकी क्षेत्रमा आंशिक बदली हुनेछ। कोशी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। मधेश प्रदेश र अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्ने देखिएको छ।