पश्चिमी र स्थानीय वायुको दोहोरो प्रभाव: कस्तो रहला आजको मौसम ?
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २६ शनिबार
481
Shares
काठमाडौँ । नेपालमा हाल पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव देखिएको छ। यसका कारण देशभरिको मौसममा बदली आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले मधेश, बागमती र गण्डकी प्रदेशका साथै अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ। तराईका बाँकी क्षेत्रमा भने आंशिक बदली छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने मधेश, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभरिको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने र तराईमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। बाँकी प्रदेशका पहाडी भू-भागमा थोरै स्थानमा वर्षा हुने र तराईका एक-दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहनेछ। यी तीन प्रदेशका पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
महाशाखाले वर्षा र हिमपातको सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।