प्रधानन्यायाधीश सिफारिसको विषयलाई लिएर यसो भन्छन् रवि लामिछाने [भिडियो]
संवैधानिक परिषद्मा आएका नामहरूमध्येबाट बहुमतले एक जनालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने कार्य कसरी असंवैधानिक भयो भन्दै प्रश्न
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २७ आइतबार
602
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संवैधानिक घेराभित्र रहेर योग्य व्यक्तिलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरिएको बताएका छन् । आइतबार पार्टीका सांसदहरूका लागि ललितपुरमा आयोजित दुई दिने प्रशिक्षण कार्यक्रमको समापन सभालाई सम्बोधन गर्दै उनले यस विषयलाई ‘सडक बहस’ को विषय नबनाउन आग्रह गरेका छन्।
उनले संवैधानिक परिषद्मा आएका नामहरूमध्येबाट बहुमतले एक जनालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने कार्य कसरी असंवैधानिक भयो भन्दै प्रश्न गरे। प्रधानन्यायाधीश नियुक्तिको परम्परा भत्काएको भन्ने आरोपप्रति आपत्ति जनाउँदै लामिछानेले पुरानै अभ्यास कायम राखिएको भए अहिले पनि संवैधानिक परिषद्मा राजनीतिक भागबण्डाकै खिचातानी चलिरहने टिप्पणी गरे।
उनले थपे, "प्रधानन्यायाधीश सिफारिसका लागि ६ जना न्यायाधीशको नाम हाम्रो पार्टीको उपस्थितिमा तय भएको होइन, त्यो त पहिले नै संवैधानिक परिषद्मा सिफारिस भई बसेको थियो। परिषद्मा हाम्रो पार्टीका वरिष्ठ नेता प्रधानमन्त्री भएर गएपछि योग्य न्यायाधीशहरूमध्येबाट एक जना चयन गर्दा विधि मिचिएको मानिन्छ भने संविधान संशोधनको बहस गरौँ। तर परम्परा भत्काइयो भन्नु हुन्न, किनभने त्यही पुरानो शैलीमा जाने हो भने आजसम्म पनि नियुक्ति टुङ्गिदैनथ्यो, बरु भागबण्डकै छलफल चलिरहेको हुन्थ्यो।"
सभापति लामिछानेले रास्वपा भागबण्डामा विश्वास नगर्ने शक्ति भएको दाबी गर्दै संवैधानिक आयोगहरूमा गरिएको सिफारिसलाई अनावश्यक विवाद र छलफलको विषय नबनाउन समेत सबैमा आग्रह गरे। उनले संवैधानिक प्रक्रिया र विधिको सम्मान गर्दै योग्यलाई अवसर दिने परिपाटीको बचाउ गरे।