सुर्खेत। नेपाली कांग्रेसले आज कर्णालीमा प्रदेशस्तरीय भेला गर्दैछ । विशेष महाधिवेशनपछि कांग्रेसले प्रतिनिधिसभा निर्वाचन समीक्षा सहित प्रदेश तथा स्थानीय तह केन्द्रित भेला गर्न लागेको हो ।
भेलालाई कांग्रेस सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेल लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने छन् । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा प्रदेश स्तरीय भेलाको आयोजना गरिएको हो ।
पार्टीका शीर्ष नेताहरूको सहभागितामा आयोजना हुने भेला आगामी राजनीतिक कार्यदिशा, निर्वाचन समीक्षा तथा सुशासनका सवालमा केन्द्रित रहने जनाइएको छ ।
भेलामा कर्णाली प्रदेशबाट पार्टीको केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने सम्पूर्ण केन्द्रीय सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी, १० ओटै जिल्लाका सभापति, प्रतिनिधिसभा सदस्य, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख-उपप्रमुख तथा गाउँपालिका अध्यक्ष-उपाध्यक्षहरूको सहभागिता रहने बताइएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण भट्टराईले भेलाको तयारी पूरा भएको बताएका छन् ।
भेलामा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको वस्तुनिष्ठ समीक्षा, संगठनात्मक कमजोरीको पहिचान तथा पार्टीभित्रको अनुशासन र आन्तरिक एकतालाई सुदृढ बनाउने उद्देश्यमा केन्द्रित हुने बताए ।
भेलामा प्रदेश तथा स्थानीय तहका सरकारले अपनाउनुपर्ने नीति, कार्यक्रम र जनमुखी विकास मोडेलबारे विस्तृत छलफल हुनेछ ।
बदलिँदो जनमत र मतदाताको मनोविज्ञानलाई ध्यानमा राख्दै पार्टीको भावी नीतिगत परिमार्जन, संगठन शुद्धीकरण तथा जनप्रतिनिधि र नेतृत्वबिच साझा धारणा निर्माणमा पनि विशेष जोड दिइनेछ ।
त्यसैगरी सुशासन, भौतिक पूर्वाधार विकास, सामाजिक रूपान्तरण, विपद् व्यवस्थापन तथा बजेट व्यवस्थापनका प्राथमिकताबारे स्पष्ट कार्य योजना तय गरिने बताइएको छ ।