देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव: यी प्रदेशमा वर्षाको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३० बुधबार
437
Shares
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको दोहोरो प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यसकै प्रभावका कारण अहिले देशका अधिकांश पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ भने तराईका क्षेत्रमा आंशिक बदली रहेको छ।
आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
मधेस प्रदेश र अन्य पहाडी भू-भागका थोरै स्थानहरूमा पनि वर्षा हुन सक्नेछ। विशेष गरी सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही जिल्लाहरूमा हावाहुरी, असिना र मेघगर्जनसहितको वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
राति पनि देशका पहाडी र हिमाली भू-भागमा बादल लाग्ने क्रम जारी रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।
अन्य प्रदेशका पहाडी भू-भागमा भने एक-दुई स्थानमा मात्र हल्का वर्षा हुन सक्ने देखिन्छ। मौसममा आएको यो बदलावले पहाडी र हिमाली क्षेत्रको जनजीवन र हवाई यातायातमा समेत सामान्य प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।