तीनओटा वायुमण्डलीय प्रणालीको प्रभाव, आज देशभर झरी र चट्याङको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३१ बिहिबार
542
Shares
काठमाडौँ । देशका विभिन्न भागमा अहिले पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदली भएको छ। अन्य स्थानमा भने आंशिक बदलीको अवस्था छ। कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा अहिले मध्यम वर्षा भइरहेको महाशाखाले बताएको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी तथा हिमाली भागमा साधारणतया बदली रहनेछ। कोशी प्रदेशका धेरैजसो ठाउँमा र बागमती, गण्डकीका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। यस्तै, मधेस र लुम्बिनी प्रदेशका तराईका केही ठाउँमा पनि वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत हिमाली भेगमा मौसम बदली रहनेछ। कोशी र मधेस प्रदेशका केही स्थानका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने विभागले जनाएको छ।