यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, बाँकीमा आंशिक बदली
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १ शुक्रबार
639
Shares
काठमाडौँ । हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने बाँकी भेगमा आंशिक बदली भएको छ। बागमती र गण्डकी प्रदेशका केही तथा कोशी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहने तथा तराईमा आंशिक बदली हुने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान, बाँकी हिमाली तथा पहाडी भागका केही तथा तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
यसैगरी आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहने तथा बाँकी पहाडी र तराई भू–भागमा आंशिक बदली रहने देखिएको छ। कोशी र मधेस प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।