विशेष महाधिवेशन पक्षधर-विपक्षी भनेर विभेद हुँदैन : गगन थापा [भिडियो]
'कांग्रेसको सदस्यता निरन्तर गर्न आग्रह गरिरहेका बेला ‘अध्यावधिक नगर्नू’ भन्ने अभियान चलाइएको छ, यो आखिर केका लागि ?'
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३ आइतबार
769
Shares
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिएको विवाद समाधानका लागि आफू लचिलो भएर अघि बढ्न तयार रहेको बताएका छन् ।
उनले १४औँ महाधिवेशनबाट निर्वाचित तर हाल जिम्मेवारीविहीन रहेका नेताहरूलाई पुनः केन्द्रीय संरचनामा समेटेर सम्मानसहित काम गर्न चाहेको स्पष्ट पारे ।
प्रजातान्त्रिक विचार समाज, नेपालको साधारणसभामा बोल्दै थापाले पार्टीभित्र विशेष महाधिवेशन पक्षधर र विपक्षी भनेर विभाजन नगरी सबैलाई समान अवसर दिनुपर्ने आफ्नो प्रस्ताव रहेको बताए ।
“१४औँ महाधिवेशनबाट निर्वाचित धेरै नेताहरू अहिले केन्द्रीय समितिभन्दा बाहिर हुनुहुन्छ,” उनले भने, “उहाँहरूलाई उपयुक्त जिम्मेवारी र सम्मानका साथ पार्टीभित्रै समेटेर सँगै काम गर्न चाहन्छु ।”
थापाले निर्वाचन समिति, सदस्यता समिति र अनुशासन समितिलगायत संरचनामा पनि सबै पक्षको सहभागिता सुनिश्चित गर्न आफू तयार रहेको बताए । पार्टीभित्र अवसर वितरणमा कुनै प्रकारको पक्षपात नहुने उनको दाबी थियो ।
यसैबीच उनले सदस्यता अद्यावधिक प्रक्रियालाई लिएर पार्टीभित्रै भइरहेको विरोधप्रति असन्तुष्टि जनाए । देशभरका सदस्यलाई फोन, मेसेन्जर, कम्प्युटर वा वडा कार्यालयमार्फत सदस्यता नवीकरण गर्न आग्रह भइरहेका बेला केही नेताहरूले उल्टै अध्यावधिक नगर्न उक्साइरहेको आरोप उनले लगाए ।
“कांग्रेसको सदस्यता निरन्तर गर्न आग्रह गरिरहेका बेला ‘अध्यावधिक नगर्नू’ भन्ने अभियान चलाइएको छ,” उनले भने, “यो आखिर केका लागि ?”
थापाले सबै नेताहरूलाई सदस्यता अध्यावधिक अभियानमा सहयोग गर्न आग्रह गर्दै पार्टी एकता कायम राख्न सबैले जिम्मेवार भूमिका खेल्नुपर्ने बताए ।
कांग्रेसले विगतमा गुमाएका लाखौँ समर्थक र शुभेच्छुकलाई पुनः पार्टीतर्फ आकर्षित गर्ने गरी एकताबद्ध भएर काम गर्नुपर्नेमा पनि उनले जोड दिए ।