कोशी, बागमती र गण्डकीमा मेघगर्जन र चट्याङसहित वर्षा, सुदूरपश्चिम र लुम्बिनीको तराईमा गर्मी बढ्ने
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ४ सोमबार
487
Shares
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको संयुक्त प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली (बादल लाग्ने) रहनेछ। मधेस प्रदेश र बाँकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
मौसम प्रणालीको प्रभावका कारण कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा र हिमपातको सम्भावना छ। यसैगरी मधेस, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्नेछ। पहाडी क्षेत्रमा पानी परिरहे पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा भने तापक्रम बढ्ने र गर्मी बढ्ने सम्भावना रहेको छ।
आज राति कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ। बाँकी पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मेघगर्जन, चट्याङ र हिमपातको सम्भावना रहेका क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।