arrow

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव : पहाडी र हिमाली भेगमा वर्षा तथा हिमपात, तराईमा तातो हावा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ५ मंगलबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । हाल नेपालको मौसममा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यी दुई वायुको प्रभावका कारण देशका पहाडी र हिमाली भेगमा वर्षा तथा हिमपात र सुदूरपश्चिम एवं लुम्बिनीका तराई क्षेत्रमा अत्यधिक गर्मी बढ्ने सम्भावना छ।

दिउँसोको समयमा कोशी प्रदेशलगायत देशका बाँकी हिमाली र पहाडी भू-भागमा साधारणतया बादल (बदली) लाग्नेछ। मधेश प्रदेशसहित बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी तराईका भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

जलवायुको यो अवस्थाका कारण कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी हिमाली तथा पहाडी भेगका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। यसका साथै, मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा समेत हल्का वर्षाको सम्भावना छ। यता सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा भने अधिकतम तापमान वृद्धि भई तातो दिन (लु चल्न सक्ने) हुने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली रहनेछ। मधेश प्रदेशलगायत देशका बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी तराईका भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

रातको समयमा कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा उच्च पहाडी एवं हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको छ। वर्षा, चट्याङ्ग र तराईमा बढ्दो गर्मीका कारण हुन सक्ने जोखिमबाट बच्न आवश्यक पूर्वतयारी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ