कोशी, बागमती र गण्डकीमा वर्षा र हिमपातको सम्भावना, सुदूरपश्चिम र लुम्बिनीमा अत्यधिक गर्मी
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ७ बिहिबार
474
Shares
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुका साथै देशको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव रहेको छ। यस मौसमी प्रणालीका कारण हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ भने बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बदली रहेको छ। देशका बाँकी तराई भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ। अहिले कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमस्तरको वर्षा भइरहेको छ।
आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने देखिन्छ। मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको तराई भूभाग र बाँकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
यसै गरी कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागको थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ। साथै मधेस प्रदेश, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागका साथै बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। यता पश्चिमी क्षेत्रका सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागमा भने आज तातो दिन हुने अर्थात् अत्यधिक गर्मी बढ्ने सम्भावना छ।
आज रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागिरहनेछ। मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। राति कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुनुका साथै उच्च हिमाली भेगमा हिमपातको सम्भावना कायमै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।