arrow

पूर्वी र मध्य नेपालमा मेघगर्जनसहित वर्षा, सुदूरपश्चिममा 'लु'को चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ८ शुक्रबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै देशको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव रहेको छ। यस मौसमी प्रणालीका कारण देशका पूर्वी र मध्य क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना रहँदा पश्चिममा भने अत्यधिक गर्मी बढ्ने देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। लुम्बिनी प्रदेशको तराई भू-भागमा आंशिक बदली रहने भए पनि बाँकी तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। 

यसैगरी मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी प्रदेशका तराई भू-भाग तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा पनि मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना छ। मौसममा आउने यो बदलावका बीच सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागमा अत्यधिक गर्मी भई तातो लहर (लु) चल्ने सम्भावना छ भने लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागमा समेत तातो दिन हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

रातिको समयमा पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ। बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने भए तापनि बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना कायम रहने महाशाखाले जनाएको छ।

काठमाडौँ उपत्यकामा बिहानै वर्षा भएको छ । वर्षासँगै घाम पनि लागेकाले चिसो महसुस भएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ