arrow

संविधान संशोधन संवेदनशील विषय, परिपक्व निर्णय लिन आवश्यक: सभापति थापा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ८ शुक्रबार
gagan-thapa-01-25.jpg
तस्बिर फाइल

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधनको विषय अत्यन्तै गम्भीर र संवेदनशील भएको उल्लेख गर्दै यसमा पूर्ण परिपक्वताका साथ निर्णय लिन सरकार र राजनीतिक दलहरूलाई आग्रह गरेका छन्।

सुनसरीको लौकहीमा आज आयोजित प्रदेश तथा स्थानीय तहस्तरीय राजनीतिक भेलालाई सम्बोधन गर्दै सभापति थापाले संविधान संशोधन जस्तो देशको मूल कानुन बदल्ने विषयमा हतार नगरी सबैको सहमति र परिपक्व ढङ्गले काम अगाडि बढाउनुपर्नेमा जोड दिए।

भेलालाई सम्बोधन गर्ने क्रममा सभापति थापाले देशैभरि चर्चामा रहेको सुकुम्बासी बस्ती व्यवस्थापनको मुद्दामा पनि आफ्नो धारणा राखे। उनले उचित विकल्प र व्यवस्थापन विना नागरिकलाई उठिबास लगाउन नहुने भन्दै सुकुम्बासी समस्या समाधानका सवालमा सरकार गम्भीर हुनुपर्ने धारणा व्यक्त गरे।

यसैगरी, थापाले गत भदौ २४ गते देशमा चर्किएको 'जेनजी' आन्दोलन र त्यस क्रममा घटेका घटनाहरूबारे सत्यतथ्य बाहिर ल्याउन माग गरे। उक्त आन्दोलनसम्बन्धी घटनाको छानबिन गरी राष्ट्रिय मानवअधिकार आयोगले तयार पारेको प्रतिवेदन अविलम्ब सार्वजनिक गरिनुपर्ने उनको भनाइ थियो।

भेलामा कोशी प्रदेशका विभिन्न जिल्लाका कांग्रेस नेता तथा स्थानीय तहका जनप्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो, जहाँ नेता थापाले पार्टीको आन्तरिक सुदृढीकरण र समसामयिक राजनीतिक मुद्दाहरूमा कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ